१८ पुस, काठमाडौं । आज बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पाँच बजे छलफल गर्ने निर्णय पनि गरेको छ । सत्ता गठबन्धनका नेताहरुले एमालेसँग पनि राष्ट्रियसभाकोको निर्वाचनबारे छलफल गर्ने जनाइएको छ ।
बालुवाटारको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
मंगलवार पनि बालुवाटारमा कांग्रेस र माओवादीका नेताहरुबीच छलफल भएको थियो । हिजाे बालुवाटारमा कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल भएको थियाे ।
त्यही आधारमा गठबन्धनमा सीट बाँडफाँट गर्ने तयारी छ। आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबीच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको छ।





