समाचार

यस्तो छ भारतीय विदेशमन्त्री जयशंकरको २ दिने भ्रमण तालिका

१९ पुस, काठमाडौं । भारतीय विदेशमन्त्री डाक्टर  एस जयशंकरको दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम छ ।

त्रिभुवन विमानस्थलमा नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नेछिन्।  सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय भएको छ। विहान ११ बजे विदेशमन्त्री जयशंकर शीतलनिवास पुग्नेछन्।

राष्ट्रपतिसँगको भेटवार्ता सकिएपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न १२ः०० बजे बालुवाटार जानेछन्।

विदेशमन्त्री जयशंकर १ बजे होटल याक एण्ड यतिमा परराष्ट्र मन्त्रीसँग भेटवार्ता हुनेछ। सवा १ बजे त्यहीं आयोजित नेपाल भारत संयुक्त आयोगको सातौँ बैठकमा उनी सहभागी हुनेछन्। दिउँसो १ः४५ बजे माइन्युट–एमओयु र विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ।

दिउँसो २ बजे उनी याक एण्ड यति होटलमै आयोजित दिवा भोजमा सहभागी हुनेछन्। ३ः४० मा उनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता हुनेछ।

साँझ सवा ६ बजे परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन्। 

भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्नेछन् भने ९ बजे उनले त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घघाटन गर्नेछन्। उनी शुक्रवार नै भारत फर्किने कार्यतालिका छ।