समाचार

बरहथवामा युवकको मृत्यु प्रकरण:गोली चलाउने हवल्दार जिल्ला तानिए

२२ पुस, जनकपुरधाम । सर्लाहीको बरहथवामा युवकको मृत्यु प्रकरणमा प्रहरीका वरिष्ठ हवल्दारको नै हात रहेको आफन्तले आरोप लगाएका छन् । यस बिषयमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

आन्दोलनमा हवल्दार यादवले नै जानी जानी युवक माथि गोली हानेर मारेको आफन्तको दाबी छ । हवल्दार नै गोली चलाएको आरोप आफन्तले लगाएपछि हवल्दार यादवलाई जिल्ला तानेर घटनाको छानबिन गरिरहेको प्रहरीको भनाइ छ ।

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको गोली लागेर ज्यान गएको थियो । मृतक युवक सर्लाही होटेलका संचालक तथा कुखुरा दानाका होलसेव विक्रेता थिए ।

हवल्दार यादवले गोली हानी मारेको भन्ने आरेप लगाएपछि प्रहरीले आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने दाबी गरेको छ ।