समाचार

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने

 राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज दाबी विरोध र उजुरीको कार्यतालिका रहेको छ।

निर्वाचन आयोगका अनुसार सोमवार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबी विरोध र उजुरी दिन सकिने छ।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि सोमवार सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ  आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ।