समाचार

सानुमायाको दुखेसो, ‘वडा, नगर, सिडिओ कार्यालय सबै तिर गएँ, श्रीमान हराएपछि दिईएन छोराहरुको जन्मदर्ता ?

२४ पुस, काठमाण्डौँ । उनी हुन् सानु माया भुजेल । माइतिघर सोलखुम्बु माप्या दुधकोसी गाउपालिका २ भएकी सानु माया भुजेलको बिचल्ली भएको छ । उनी अहिले ३३ बर्षकी भइन् उनका २ छोरा छन् । १४ बर्षको उमेरमा बिहे भएको उनको बिहे नै अहिले जीवनको पासो भएको छ ।

घर दोलखाको जिरी नगरपालिका ५ ढुगे घर भएका शान्ता बहादुर जिरेल संग सानुमाया भुजेलका आमा बुवाले धुमधामसंग बिहे गरिदिए । उनका श्रीमान् ले घररिवारमा कोही छैनन भनेपछि सानुमायाका माइति पट्टीले घर परिवारको बारेका त्यति सोध खोज भने गरेनन् ।

बिहेपछि सानुमाया आफ्नो श्रीमान् संगै काठमाण्डौँ बसीन् । २ छोरा पनि भए । त्यो बिचमा उनका श्रीमान्ले आफु बस्ने कोठामा आमाजु पर्ने भनेर एउटा महिलालाई लिएर आफु संगै राखे । सानुमायाले पनि आमाजु भनेर खुब ख्याल राख्थिन् उनको । तर एक दिन आफ्ना श्रीमान् लाई त्यही आमाजु भन्ने संग सुतेको देखिन् ।

त्यसपछि आउन थाल्यो उनीहरुको सम्बन्धमा दरार । सानुमायालाइ आफ्नो श्रीमान् प्रति शंका लाग्न थाल्यो । शंका गर्दा उनका श्रीमान् ले उनी माथि कुटपिट गर्न थाले । त्यसपछि सानुमायालाई पिर पर्न थाल्यो । सानु मायाले आफ्नो श्रीमान् लाई घर लग्न दबाब दिईन् तर उनका श्रीमान् ले बिभिन्न बाहाना बनाउथे ।

छोराहरुलाइ बिद्यालय भर्ना गर्ने बेला भयो । छोराहरुको जन्मदर्ता आवश्यक पर्यो । सानुमायाको धेरै प्रयासपछि उनका श्रीमान् घर जान माने । घर पुगे, घर पुग्दा घरमा जेठाजु जेठानी र सानुमायाको श्रीमानको जेठी श्रीमती रहेछन् । सानुमायाले काठमाण्डौँमा हुदा आमाजु भनेर राखेखी महिलालाई घर पुग्दा आफ्नै श्रीमान् को जेठी श्रीमती भन्दा उनी छागाँबाट खसे झै भइन् । उनले पछि गाउघरबाट थाहा पाईन् उनका श्रीमान्ले उनी संग बिहे गर्नु भन्दा १८ बर्ष अगाडि नै गाउकै भाउजू नाता पर्ने संग बिहे गरेका रहेछन् ।

भाउजू नाता पर्ने संग बिहे गरेपछि गाउँबाट नै निकाला गरिएका रहेछन् उनका श्रीमान् १८ बर्ष पहिले । यो कुरा सानुमायाका लागि सामान्य थिएन् तर उनले छोराहरुको मुख हेरेर श्रीमान् संगै बसीन् । उनले आफ्नो श्रीमान् संग केही मागेकी थिइनन्मा, मागेकी थिइन् त केवल छोराहरुको जन्म दर्ता । छोराहरुको जन्मदर्ता बनाउन गाँउ जादा सानुमायाले शारीरिक मानसिक पिडा सहनु पर्यो । छोराहरुको जन्मदर्ता गराउन वडा कार्यलय जादा उनका श्रीमान् र जेठी श्रीमतीको विहे दर्ता गरेको प्रमाण फेला पारीन् ।

छोराहरुको जन्मदर्ता गराउन भनी गाउँ गएकी सानुमायालाई उनका श्रीमान् ले छोराहरुलाई जेठी श्रीमतीको नाममा जन्मदर्ता गराउने सर्त राखे तर सानुमायाका लागि त्यो कुरा स्वीकार्य थिएन । नौँ महिना कोखमा राखेर जन्म दिएर पालन पोषण गरेर हुर्काएका छोराहरुबाट अलग गर्न खोजेकाले उनले त्यो कुरा मानीनन् । त्यस पछि उनका श्रीमान् र जेठी श्रीमती रातारात गाउँबनाट गायब भए । कहाँ गए पत्तो भएन् ।

सानुमायाका जेठाजुले जसोतसो आफ्नो भाइलाई सम्पर्क गरेर घर फर्काए । सानुमाया माथि त्यस्तो गर्न नहुने घर परिवारको भनाइ थियो । सानुमायाका श्रीमान् ले बिभिन्न बाहाना पारेर छोराहरुको जन्मदर्ता नै नगरी फेरि काठमाण्डौँ फर्के । बिभिन्न शारीरिक मानसिक तनाब दिइरहने श्रीमान्का बिरुद्धमा सानुमायाले प्रहरी निवेदन समेत दिईन् ।

यातना नदिने र मिलेर बस्ने लिखित सहमति पनि हुन्छ उनीहरु बिच । प्रहरीमा गएर भएको त्यहि लिखित सहमति पश्चात फरार रहे सानुमायाका श्रीमान् । उनका श्रीमान् अहिले बेपत्ता भएपछि उनको बिचल्ली भएको हो । सानुमाया संग अहिले कुनै पनि कानुनी प्रमाण नहुदाँ उनलाई बाच्नै गाह्रो भइरहेको छ ।

श्रीमान् ले उनलाई कल्पना नै नगरेको धोका दिए । धोका मात्र होईन् उनका श्रीमान् अहिले सानु मायाबाट सम्पर्क नै बिहिन भएपछि जीवननै धरापमा परेको छ । उनका श्रीमान्को अत्तोपत्तो छैन् ।

श्रीमान् ले आफ्ना २ छोराको जन्मदर्ता गर्नुपर्छ भनेर नै लुकेर बसेको र सम्पर्कमा नआएको नमानेको सानुमाया बताउछिन् । जब उनले आफ्ना श्रीमानलाइ छोराको जन्म दर्ताको लागि बारम्बार भन्दा उनका श्रीमान् ले बिभिन्न बाहाना बनाएर जन्म दर्ता नै गर्न नमानेको उनको भनाइ छ । उनी भन्छीन् २ छोरा छन् जसो तसो मैले काम गरेर छोराहरु स्कुल पढाएकी छु तर स्कुलबाट जन्मदर्ता माग्छन् जन्मदर्ता छैन् छोराको बुबा फरार छ कसरी जन्म दर्ता बनाउने ।

घरमा रहेका जेठाजु र जेठानीसंग आफ्नो राम्रै सम्बन्ध रहेका सानुमाया बताउछिन् । जेठाजु अरु सबै कुरामा राम्रा भएपनि २ छोराहरुको जन्मदर्ता बनाउनमा भने जेठाजुले सहयोग नगर्ने बताएको सानुमाया दुखेसो पोख्छिन् । पटक पटक शारीरिक मानसिक तनाब खेपेकी छन् सानुमायाले । श्रीमान्ले २ छोराको जन्मदर्ता गर्न नमानेर फरार भएपछि उनी बिचल्लीमा परेकी उनको साहारा कोहि छैन् । २ छोराको जन्म दर्ता गर्न उनले वडा, नगर देखि जिल्लासम्म धाइन् । तर सानुमायालाई कसैले सहयोग गरेनन् ।

सानुमायासँग सुर्यखबरको कार्यालयमा गरिएको प्रतिनिधि बसन्ती धामीसँगको गफगाफ । तस्विर/ प्रज्वल बोहोरा

जता जादाँ पनि छोराको जन्मदर्ता गर्न बुवा नै चाहिन्छ भन्ने गरेको उनी भन्छिन्, ” काँ बाट खोजेर ल्याउँ मेरो श्रीमान्लाई । मेरो र मेरो छोराहरुको विचल्ली भएको छ उनले रुदै भनिन्, सहयोगको हार गुहार गर्दा पनि कसैले सुनेनन् मेरा पिडा, उनी भन्छिन् रुदारुदै आँशु सकियो छोराहरुको पीर छ स्कुलबाट जन्मदर्ता चाहियो भन्छन् जन्मदर्ता नहुदा मलाइ मेरा छोरा पढाउन गाह्रो भयो । कसरी हुर्काउ मेरा छोराहरुलाई । म त जसो तसो काम गरिहाल्छु, पेट पालिहाल्छु सडकमै पनि सुत्थेँ तर मेरा छोराहरुको विच्चली भयो । बाच्नलाइ ज्यालादारी गर्ने कि, छोराहरुको जन्मदर्ता गर्न धाउने कि उनलाइ पीँडा नै पीँडा छ ।”

जन्मदर्ताको लागि आफन्त बुद्धिजीवि, अगुवा समाजसेवी, राजनीतिक कार्यकर्ता, प्रहरी, वडा, नगर, जिल्लाका प्रमुख कर्मचारीहरुसंग हारगुहार गरेको तर सहयोग कसैले पनि नगरेको उनको गुनासो रहेको छ । ” मलाई मेरो श्रीमान्को घर जग्गा सम्पत्ति केहि कुराको पनि लोभ छैन मलाई चाहिएन तर मलाइ मेरा छोराको जन्म दर्ता मात्र चाहिएको हो” उनी भन्छिन् ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले थप प्रमाणपत्र जुटाएर सानुमायालाई न्याय गर्ने बताएका छन् ।

(सबैतिरबाट पीडा भोग्दै आउनुभएकी उनै सानुमायासँग सुर्यखबर प्रतिनिधि बसन्ती धामीले मध्यबानेश्वरस्थीत सुर्यखबर डट् कम्को केन्द्रीय कार्यलय काठमाडौंमा आज गरेको कुराकानीमा आधारित)