२६ पुस, काठमाडौं । बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले आज लामिछानेलाई निलम्बन गरेको हो ।
चन्दले दोषी ठहर भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको बताए ।
प्रेस विज्ञप्तिमा भनिएको छ,‘सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित आदलतको आदेश अनूसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौ ।’





