खेलकुद

भारतीय ‘ए’ टोली नेपाल आउँदै, कीर्तिपुरमा देखिनेछ युवा क्रिकेटको शक्ति परीक्षण

२६ असार, काठमाडाै‌ । नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग टी–२० शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र भारत ‘ए’बीच तीन खेलको टी–२० सिरिज आयोजना हुनेछ ।

स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सम्मेलनका क्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाबीच भएको छलफलपछि सिरिजको टुंगो लागेको हो ।

निर्धारित तालिकाअनुसार सिरिज आगामी डिसेम्बर ९ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ । पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो खेल डिसेम्बर १३ मा खेलाइनेछ ।

भारतको बलियो घरेलु संरचनाबाट आउने ‘ए’ टोलीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसर दिने क्यानले विश्वास लिएको छ । घरेलु मैदानमा हुने यो सिरिज नेपाली क्रिकेटको स्तर सुधार र खेलाडीको क्षमता परीक्षणका लागि महत्वपूर्ण मानिएको छ ।