पर्यटन/संस्कृति

ललितपुरमा एक होटल सञ्चालक पक्राउ

७ माघ, काठमाडौँ । ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक व्यक्ति करेन्ट लागेर अचेत भएपछि सो प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई पक्राउ परेको छ ।

पीडितका परिवारको जाहेरीका आधारमा सञ्चालकविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका होटल सञ्चालक भण्डारी आज पक्राउ परेको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका अनुसार भण्डारीलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट अनुसन्धानका लागि तीन दिनको म्याद प्राप्त भएको कार्कीले बताए । होटलका अर्का सञ्चालक रोमी अर्यालको भने खोजी जारी रहेको उनले बताए ।

पीडित परिवारले दुई जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि यही माघ ४ गते दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।