अन्तर्राष्ट्रिय

आगलागीबाट दक्षिण कोरियामा २ सय २७ पसल नष्ट

९ माघ, सोल । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २ सय २७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ ।

राति करिब ११ः०८ बजे आगलागी भएको थियो ।राजधानी सियोलबाट लगभग १ सय ७० किलोमिटर दक्षिणमा रहेको काउन्टीको परम्परागत समुद्री उत्पादन बजारमा आगलागी भएको हो ।

तीव्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन करिब नौ घण्टा लागेको थियो । बजारका २ सय ९२ पसलमध्ये २ सय २७ पसल जलेर नष्ट भएका छन् । आगलागी हुँदा बजारमा कोही मानिस नभएकाले मानवीय क्षति भने भएको छैन । दमकल अधिकारीहरूले आगो निभाउन ३६१ वटा दमकल र ४५ वटा दमकल इन्जिनहरू परिचालन गरेका थिए । घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ ।