कर्णाली प्रदेश

कालीकोटमा प्रयोगमा आएन् नमूना बस्ती

१३ माघ, कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् ।

विसं २०७८ को बाढीपहिराले रास्कोटका जोखिममा परेका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो ।

नीलो जस्तापाताले सिँगारिएका एकनासका घरहरु आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमूना बस्ती रहेको स्थानीय नवराज शाहीले बताउनुभयो । “विसं २०७७/७८ मा बाढीपहिराबाट पीडितका लागि प्रदेश सरकारले पहिलोपटक एकीकृत नमूना बस्तीको अवधारणा ल्याएको थियो”, उनले भने, “अहिले बाढीपहिरो पीडित पुरानै जोखिमाका घरमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लगाइएको छन् ।”

पहिराले पूर्णरुपमा क्षति पु¥याएका ७३ परिवारका लागि आवास बनाइएकामा अहिले उक्त बस्तीमा १६ परिवार मात्र बस्ने गरेको नगरपालिकाले जनाएको छ ।

रास्कोट–१, ३ र ७ का बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट छुटाएर सोही रकमबाट बस्ती निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । “एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच थियो तर त्यो सफल हुन सकेन”, उनले भने, “खानेपानीलगायत केही भौतिक संरचना निर्माण गर्न बाँकी रहेकाले पीडित बस्न मानेको छैन ।”