प्रदेश 1

कांग्रेस सत्तामा रहोस् नरहोस् तर जनताको मनमा रहनुपर्छः सभापति तामाङ, रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत संकलन

धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले कांग्रेस सत्तामा रहोस् नरहोस् तर जनताको मनमा रहनुपर्ने बताएका छन् । नेपाली कांग्रेस पार्टी देश र जनताको चाहना र भावना बमोजिम स्थापना भएको डेमोक्रेटिक पाटी भएकाले कांग्रेसले सत्तालाई भन्दा जनतालाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् ।
नेपाली कांग्रेस धरान ५ नं. वडाले “रक्तदान जीवन दान” भन्ने नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका तामाङले यस्तो बताएको हो । उनले पाटीले जनता र समुदाय लक्षित सामाजिक एवम् मानवीय सेवाका पक्षमा र सुशासनको क्षेत्रमा विशेष कार्य गर्नुपर्ने भन्दै नेपाली कांग्रेस धरान ५ ले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे ।
नेपाली कांग्रेस, धरानको मासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने नीति अनुरुप यसपटक वडा नं. ५ ले नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा सभापति कुमार देवानले बताए । उनले ५४ पुरुष र २४ पुरुष गरी ७८ जनाले रक्तदान गरेको बताए ।
कार्यक्रममा नगर सभापति श्याम पोखरेल, सचिव हिमाल श्रेष्ठ, हिमाली मा.वि. का प्रधानाध्यपाक एमकुमार खत्री, देउराली चिल्डे«न एकेडेमीका प्रिन्सपल नविन गौतम, लिङ्देन समाज धरानका अध्यक्ष मानबहादुर लिम्वु, वडा उपसभापति जीवन लिम्वु लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग गर्ने र रक्तदान गरी सहयोग गर्नेहरुलाई सम्माना–पत्र, कदर–पत्र र प्रशंसा–पत्र प्रदान गरिएको थियो । उनीहरुलाई क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य तिलक राई, नगर सभापति श्याम पोखरेल, १८ नं. वडा अध्यक्ष तथा नगर उपसभापति नरेन्द्रकुमार राई(प्रविन), प्रदेशसभा १(१) उपसभापति झुमादेवि राई, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिान सुब्बा गुरुङ, नगर उपसभापति सन्तोष लिम्वु, नगर सचिव हिमाल श्रेष्ठ, नगर सचिव जितेन्द्र राई, वडा सभापति कुमार देवान, क्षेत्रीय सदस्यद्धय ध्रुव गिरी र कमला श्रेष्ठ लगायतले प्रमाण–पत्र प्रदान गरेका थिए ।