मनोरञ्जन

सोमबारदेखी सुरु हुँदै ‘द पोएट आइडल’ सिजन २

२७ माघ, काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी सोमबारदेखी प्रसारणमा आउने भएको छ । शुक्रबार आयोजीत प्रायोजक घोषणा कार्यक्रममा प्रसारण मिति र समयबारे जानकारी गराइयो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुनेछ ।

कार्यक्रममा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने यस शोको यसपटकको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी जज् को रुपमा भित्रिएकी छिन् । साथै अन्य तीन जज् पहिलो सिजनकै दोहोरिनेछन् । चलचित्रकी अभिनेत्री कविता सम्बन्धित रियालिटी शोको जज् किन ? भन्ने सामाजिक सञ्जालमा आइरहेका प्रश्नबारे सन्चारकर्मिले प्रश्न गरेका थिए । सोहि बिषयमा निर्देशक र अभिनेत्री अधिकारीले उक्त आलोचनाको खण्डन गरेका थिए ।

अभिनेत्री केकीले चलचित्र अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन् । उनले सबैको धारणालाई सम्मान गर्ने बताएकी थिइन् । ‘मलाई यहाँ गरिएको प्रश्न जस्तै सुरुमा निर्देशक अमनदाई लाई गरेकी थिएँ । म नै जज् किन भनेर । उहाँहरुले दर्शकको प्रतिनिधित्व गर्ने महिला जज् चाहिएको बताउनुभयो । म कला क्षेत्रमा किन छु भन्दा, यहाँ आफूलाई लागेको कुरा मजाले अभिव्यक्त गर्न सकिन्छ । म ओपनियनलाई एकदमै शिरोधार्य गर्न सक्ने व्यक्ति पनि हुँ ।’ केकीले भनिन् । ‘यो रियालिटी शोलाई विभिन्न कुराको विश्लेषण गर्न सक्ने व्यक्ति चाहिएको कारणले हो भनेपछि मैले थप गर्न जरुरी भएन । मैले चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिरहेकी छु जसले गर्दा कला साहित्यप्रति मेरो पनि जिम्मेवारी छ ।’

निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताएका थिए । निर्देशन अधिकारी भन्छन्, ‘यो शो लेखनमा मात्र आधारित शो होइन । केकी अब्बल नायिका हुन् । हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौं ।’

शोको कुल एपिसोड फिनालेलाई छाडेर ३० हुने जानकारी गराइयो । यसपटकको सिजन २ मा जज् मा केकीसँगै बिप्लब प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनेछन् भने होस्टको रुपमा दिव्यदेव रहनेछन् । आयोजकले शोको बिजेतालाई नगद १० लाख रुपैंया सहित एक पुस्तक सार्वजनिक गरिदिनेछ ।