प्रदेश 1

धरान र इटहरीसहित १२ स्थानीय तहलाई उछिन्दै नेपाली काँग्रेसबाट मेयरमा विजयी भएको वराहक्षेत्र सुनसरीकै उत्कृष्ट पालिका पुष्टी

२९ माघ, चक्रघट्टी । कोशी प्रदेशको महत्वपूर्ण जिल्लाको रुपमा रहेको वराहक्षेत्र नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) का आधारमा जिल्लामा रहेका उपमहानगरपालिकाहरू, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको छ ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निस्शर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा वराहक्षेत्र नगरपालिकाले १०० पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको छ ।
स्वतन्त्र मेयर हर्क साम्पाङ मेयर रहेको छिमेकी धरान उपमहानगरपालिकाले ७१.५, रामधुनी नगरपालिकाले ७३, इटहरीले ८१.२५ अङ्क प्राप्त गरेको छ । गतवर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गरेको वराहक्षेत्र नगरपालिकाले यसवर्ष पनि उत्कृष्ट अङ्क हासिल गरेको हो ।
मूल्याङ्कनका विभिन्न १० वटा विषय क्षेत्रमा वराहक्षेत्र नगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अङ्क बढाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रबहादुर मल्लले बताए ।
जसमा सय पूर्णाङ्कमा शासकीय प्रबन्धमा १०० अर्थात् शतप्रतिशत, सङ्गठन तथा प्रशासनमा १०० अङ्क, वार्षिक बजेट तथा योजनामा व्यवस्थापनमा ८६.३६ अङ्क, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०० अङ्क, सेवा प्रवाहमा ९३.७५ अङ्क, सहकार्य र समन्वयमा ३३.३३ अङ्क, न्यायिक कार्य सम्पादन १०० अङ्क, भौतिक पूर्वाधार ९२.३१ अङ्क त्यस्तै सामाजिक समावेशीकरणमा १०० अङ्क, वातावरण संरक्षण तथा बिपद व्यवस्थापनमा ८३.३३ प्रतिशत गरी समग्रमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) का सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र बहादुर मल्लले जानकारी दिए ।
धरान, इटहरी–उपमहानगरपालीका, रामधुनी, दुहवी, इनरुवा, भादगाउँ सुनवारीलाई पछाडी पर्दा बराहक्षेत्र नगरपालीका उत्कृष्ट बन्न सफल भएको छ । उक्त नगरपालीकाका मेयर रमेश कार्की रहेका छन् भने प्रतिनिधि सभा साँसद ६ वटा वडामा नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की छ । नेपाली काँग्रेस विजयी भएको उक्त नगरपालीका उत्कृष्ट हुँदा काँग्रेसका नेताकार्यकर्ताहरु दंग देखिन्छन् ।