आर्थिक

गाउँको उत्पादन सहरमा पुर्याउनु पर्छः अर्थमन्त्री महत

२ फागुन, नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पु¥याउनुपर्ने बताएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले पूर्वाधारको विकास र प्राविधिक एवं आधुनिक शिक्षामार्फत गाउँको विकासमा सरकार केन्द्रित भएको बताए ।

“विगत वर्षमा देशको राजनीतिक अन्योलता, भूकम्प, कोरोना महामारीको जोखिमलगायतका कारण विकासको गति अघि बढाउन सकिएन”, उनले भने, “अहिले विकासको रफ्तार सुरु भएकाले गाउँगाउँमा सडकसहितको पूर्वाधारको विकास र कृषिमा आधुनिकीकरण गरी उब्जनी बढाएर त्यसलाई सहरमा पु¥याउनु पर्छ ।”

लामो समयसम्म कमजोर बनेको देशको अर्थतन्त्र हाल सुधारको लयमा फर्किएकाले रोजगार र उद्यमशीलता बढ्ने क्रममा रहेको मन्त्री डा. महतको भनाइ थियो । सोहीअनुसार गाउँगाउँमा पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षामा सरकार केन्द्रित भएकाले उक्त अभियान सफल बनाउन उनले सरोकारवाला सबैलाई आग्रह गरे ।

“शिक्षकले पाठ्यपुस्तक र नोटकपीको भरमा अध्यापन गराउने बानी हटाई प्रविधिमा आधारित शिक्षाबाट आफूले पनि पढेर विद्यार्थीलाई पढाउने बानीको विकास गर्नुपर्छ”, उनले भने, “भौतिक सम्पत्तिभन्दा शिक्षा नै सबैभन्दा ठूलो र अमूल्य सम्पत्ति हो । बालबालिकालाई अध्ययनमा लगनशील बनाउन अभिभावक चिन्तित हुनुपर्छ ।”

रोजगारी सिर्जना, व्यावसायिक कृषि उब्जनी र समाज परिवर्तनका लागि शिक्षित जनशक्तिको उत्पादन आवश्यक पर्ने मन्त्री डा. महतले बताए । सोहीअनुसार आवश्यकताका आधारमा स्रोत र साधनले भ्याएसम्म राज्यले लगानी गर्दै आएको उहाँले उल्लेख गरे ।