ब्रेकिङ न्युज

मस्कोको आकाश धुवाँले ढाकियो, युक्रेनले गर्‍यो युद्धकै सबैभन्दा ठूलो हमला

४ असार, काठमाडौं । युक्रेनले रुसको राजधानी मस्कोमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको दाबी गरिएको छ। आक्रमणपछि राजधानीस्थित एक तेल प्रशोधन केन्द्रमा आगलागी हुँदा आकाशमा बाक्लो कालो धुवाँ फैलिएको तस्वीर र भिडियो सार्वजनिक भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार दिएको चेतावनीमा, “यदि युक्रेन जल्यो भने, तपाईंको मस्को पनि जल्नेछ,” भनेका थिए। त्यसको केही समयपछि मस्कोमा व्यापक ड्रोन आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार आक्रमण युद्ध सुरु भएयताकै राजधानीमाथि गरिएका सबैभन्दा ठूलो ड्रोन हमलामध्ये एक हो। उनका अनुसार युक्रेनी ड्रोनले ग्याजप्रोम नेफ्टको तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको थियो।

आक्रमणपछि तेल प्रशोधन केन्द्रबाट कालो धुवाँको मुस्लो उठेको देखिएको छ। आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक टोलीसँगै हेलिकप्टरसमेत परिचालन गरिएको थियो।

घटनापछि सार्वजनिक भएका तस्वीर र भिडियोमा रिफाइनरी क्षेत्रमा आगलागी र धुवाँ फैलिएको दृश्य देखिन्छ। यद्यपि आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन।

रुस–युक्रेन युद्ध जारी रहेकै बेला राजधानी मस्कोलाई लक्ष्य बनाएर गरिएको यो आक्रमणलाई युद्धको थप गम्भीर मोडका रूपमा हेरिएको छ।