शिक्षा

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आजबाट आफ्नै भवनमा

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आजदेखि बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा औपचारिक रुपमा सरेको छ । त्रिविका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विभाग परिसरमा आज उक्त भवनको उद्घाटन गरे ।

विसं २०७३ मा रत्नराज्य लक्ष्मी क्याम्पसमा छुट्टै प्रशासनिक संरचनाअन्तर्गत सञ्चालित केन्द्रीय विभाग अबदेखि बल्खुस्थित सुविधासम्पन्न भवनमा सञ्चालन हुने छ । कार्यवाहक उपकुलपति भुसालले विभागले लामो समयको प्रतीक्षापछि पूर्वाधार प्राप्त गरेको बताए । त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउन विभागका सम्बद्ध सबैलाई उनले आग्रह गरे।

 पत्रकारिताको प्राज्ञिक अध्ययन अनुसन्धानका लागि आवश्यक सबै सुविधा रहेको केन्द्रीय विभाग भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो । विश्वविद्यालयले २०३१ सालमा प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिताको अध्ययन अध्यापन सुरु गरेको थियो । लामो समय प्रमाणपत्र तह र स्नातक तहको अध्यापन हुँदै आएकामा त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि (पिएचडी) र विसं २०७४ देखि  दर्शनाचार्य तथा विद्यावारिधि (एमफलि पिएचडी) तहको अध्यापन प्रारम्भ गरेको थियो ।

विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले विभागले नेपाली पत्रकारिता हाक्ने ठूलो पङ्क्ति तयार गरेको बताए । विसं २०३३ मा रत्नराज्य लक्ष्मी क्याम्पसबाट सुरु भएको पत्रकारिताको अध्ययन अध्यापनलाई लालदेउसा राई र पी खरेलले अघि बढाउनुभएको स्मरण गरे ।

भवन निर्माणका नेतृत्वकर्ता एवं इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक नारायणप्रसाद गौतमका अनुसार भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि प्राध्यापक आवासलगायत रहेका छन् । उक्त भवन निर्माणका लागि रु २१ करोड ५९ लाखमा निर्माण भएको हो ।