मनोरञ्जन

विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

६ फागुन, काठमाडौँ । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो ।

सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजारको पुरस्कार दिइनेछ ।

सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनिस्कोले हरेक मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेुँगै नेपाल पनि यो दिवस मनाउन थालिएको हो ।

साहित्यकार भ्रष्ट छैनन्: कुलपति राई
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले भ्रष्टाचार र अनियमिततामा अपवादबाहेक कवि साहित्यकारहरू संलग्न नभएको बताउनुभएको छ ।

सर्वाेच्च अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवका अवसरमा एसोसिएसनको भाषा साहित्य, कला संस्कृति समिति, नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान र निर्झर दिलचेत वाङ्यमय प्रतिष्ठान नेपालद्वारा ‘संरक्षणमा कानुन व्यवसायीको भूमिका र दायित्व’ विषयक अन्तरविमर्शमा कुलपति राईले समाजमा हुने गरेका भ्रष्टाचार र अनियमितताका मुद्दामा अपवादबाहेक कवि साहित्यकार संलग्न नभएको बताए ।

साहित्यका विविध विधा र कृति पढ्न कानुन व्यवसायीलाई आग्रह गर्दै उनले बहुल भाषाबारे ज्ञान भएमा शब्दहरूको प्रयोगमा अर्थको अनर्थ नलाग्ने र फैसलाहरू त्रुटिरहित हुने बताए ।

कार्यक्रममा पूर्वन्यायाधीश कमलनारायण दासले सबै पक्ष मिलेर नेपाली भाषा र मातृभाषालाई बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए । प्रा.डा भागवत ढकालले भाषाको प्रयोग गर्दा विभिन्न मातृभाषाबाट आएका शब्दको सम्मान गर्नु अत्यावश्यक भएको बताए ।