पर्यटन/संस्कृति

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

१६ फागुन, डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा ७ महिनामा ८ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको ७ महिनामा ८ सय ८३ पर्यटक भित्रिएका हुन् ।

खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी र आठ सय ६५ स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।

आव २०७७/७८ मा तीन विदेशी र एक हजार छ सय ८५ नेपालीले तथा २०७८/७९ मा १९ विदेशी, तीन सार्क राष्ट्रका र दुई हजार एक सय ८७ नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ । आव २०७९/८० मा दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।