आर्थिक

नइका ‘सिक्का र टिकट’ लोकार्पण

१९ फागुन, काठमाडौं । नइ प्रकाशनले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको लोकार्पण गरेको छ ।

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरे।

नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा सिक्का टकमरी भएको यो पहिलो अवसरका रुपमा रहेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताए । 

नेपाली वाङ्मयप्रेमीको विशिष्ट संस्थाको रुपमा रहेको नइ प्रकाशन विसं २०५२ मा स्थापना भएको हो । स्थापनाकालदेखि संस्थाले परम्परागत सांस्कृतिक मूल्य, मान्यता र धारणालाई शिरोपर गर्दै नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायतका अन्य विविध क्षेत्रमा प्रकाशन तथा प्रतिभालाई सम्मान गर्दै आएको छ ।