स्वास्थ्य

जनताको साथ र सहयोग पाएको छु, तपाईँहरूको मतको गुन तिर्नुछः स्वास्थ्यमन्त्री बस्नेत

१९ फागुन, सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका धेरै जनताको साथ र सहयोग आफूले पाएको भन्दै त्यसको गुन तिर्न बाँकी रहेको बताएका छन् ।

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २, पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा आज आयोजित नागी टासी छ्योलिङ गुम्बाको शिलान्यासका अवसरमा उनले धेरै जनताको साथ र सहयोग पाएर जनप्रतिनिधि भएको बताउदै आफू हरतरहले जिल्लामा विकास निर्माणका आयोजना ल्याउन लागिपरेको बताए ।

“छ महिना सञ्चारमन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ । अहिले स्वास्थ्यमन्त्री भएकाले बेला ३९ वटा स्वास्थ्य संस्थाका भवन यस वर्ष निर्माण हुँदैछन् । अर्को वर्ष बाँकी स्वास्थ्य संस्थाका भवन निर्माण सम्पन्न हुनेछन्”, उनले भने, “जनप्रतिनिधि भएपछि मुद्दा मामिलादेखि विकास निर्माणका साथै जनताको आपत्विपद्मा सबै काम गर्नुपर्छ, म त्यसका लागि निरन्तर लाग्ने व्यक्ति हुँ ।”

उनले सामाजिक काममा सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माणमा ध्यान दिन्छौँ भनेका थियौँ, त्यहीअनुसार रु १० लाख बजेट विनियोजन भइसकेको छ भने थप रु २० लाख विनियोजन हुनेक्रममा छ”, उनले भने ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले भूकम्पबाट क्षतिग्रस्त तीन सय वर्ष पुरानो गुम्बा पुनःनिर्माणका लागि निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार आज शिलान्यास भएको बताए । उनले गुम्बा निर्माणका लागि बजेटको चिन्ता नलिन आग्रह गरे ।

गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइबाले शिलान्यास भएको गुम्बा निर्माण सम्पन्न गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।

नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरूका पछि लाग्ने काम अब बन्द हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दोङ, नेकपा (माओवादी केन्द्र) पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइबा, समाजसेवी शङ्कर लामालगयतले मन्तव्य राखेका थिए ।