समाचार

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ः सांसद बडू

२० फागुन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप नै ‘अवाकस’ भएको बताएका छन् । बालविकास एनसिमास प्रालिद्वारा आज यहाँ आयोजित राष्ट्रव्यापी अवाकस प्रतियोगिता कार्यक्रममा उनले परम्परागत गुरुकुल शिक्षा पद्धतिको वैज्ञानिक स्वरुपको पठनपाठन विधि अहिले प्रयोगमा रहेको ‘अवाकस’ विधि रहेको दाबी गरे । ‘अवाकस’ भनेको एक मेकानिकल यन्त्र हो जसलाई अङ्कगणितीय गणनामा प्रयोग गरिन्छ ।

सांसद बडूले बालबालिकाको मस्तिष्कको विकास गर्न विद्यालयले अनुसन्धानात्मक तरिकाबाट पठनपाठन गरिनुपर्नेमा जोड दिए । उनले भने, “विद्यालयमा अवाकसलाई अतिरिक्त कार्यक्रममा राखेमा विद्यार्थी धेरै चाँडो सिक्न सक्ने हुन्छन् । अवाकस विधि सिकेमा हरेक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सजिलो हुन सक्छ ।”

बालविकास एनसिमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालले बालबालिकाको क्षमता वृद्धिका लागि गणितीय प्रतियोगिता ‘अवाकस’ महत्वपूर्ण हुने बताए । उनले प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाका लागि ‘अवाकस’ अनिवार्य हुनुपर्नेमा जोड दिए ।