प्रदेश 1

कृष्णप्रसाद भट्टराईको सम्झनामा इनरुवामा मैनबत्ती प्रज्वलन

२० फागुन, इनरुवा (सुनसरी) । नेपाली कांग्रेसका सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृति दिवसका अवसर पारेर आज यहाँ दीप प्रज्वलन गरिएको छ । इनरुवा–१ स्थित लोकतान्त्रिक चोकमा नेता भट्टराईको सम्झनामा नेपाली कांग्रेस सुनसरीले दीप प्रज्वलन गरेको सो पार्टीका नेता धिरज भट्टराईले बताए ।

त्यस अवसरमा कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री सीताराम मेहताले सन्त नेता भट्टराईले देखाउनुभएको त्यागको राजनीतिको चर्चा गरे । “सन्त नेता भट्टराई सिंहदरबारमा जसरी प्रवेश गर्नुभयो त्यसैले नै फर्कनुभयो”, उनले भने, “उहाँले लिएको सिद्धान्त आज पनि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले अनुसरण गर्नुपर्छ ।”  

सो अवसरमा नेपाली कांग्रेस सुनसरीका उपसभापति पङ्कज महतो, इनरुवा नगरपालिकाका उपप्रमुख बिनिता मेहता, पूर्वउपप्रमुख जमुना गौतम पोखरेल, नगर उपसभापति विनिता दाहाल, युवा नेता धिरज भट्टराई, चन्दन यादव, शिवकुमार यादव, योगेन्द्र मेहता, जमिल अख्तर अजाद, बब्लु भगत, चन्दन यादवलगायतको सहभागिता थियो ।