प्रदेश 1

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

२१ फागुन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट ९बजार० सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो । सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो । गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आव २०८०/०८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार ८३१ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज कृषि मार्टमा लगेर कृषिउपज बिक्री गर्ने छन् ।

केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो । सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषिउपज कृषि मार्टमा बिक्री हुने जनाइएको छ ।

नगर प्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले ‘हलेसी कृषि मार्ट’को शुभारम्भ गरो थिए । कृषकले उत्पादन गरेर ल्याएका कृषिउपज सङ्कलन गरेर बिक्री गर्नसमेत सुरु गरिएको छ । कृषकले आलु, साग, धनिया, कोभी, मुलालगायतका तरकारी बिक्री गर्न कृषि मार्टमा ल्याएका थिए ।

आफूले उत्पादन गरेर ल्याएको कृषिउपज एकै ठाउँमा बिक्री गर्न पाउँदा खुसी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताएका छन् । “अरु बेला आफूले उत्पादन गरेका कृषिउपज बोकेर सबै घर, होटलमा डुलेर कराउँदै बेच्नुपथ्र्यो । आज सहजै यहाँ एकै ठाउँमा बिक्री हुँदा धेरै खुसी लागेको छ”, उनले भने, “कृषिउपजको बजारीकरणका लागि सञ्चालन गरिएको कृषि मार्टले निरन्तरता पाउन आवश्यक छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

नगरपालिकाले निर्धारण गरेको मूल्य आवश्यकता र समयको आधारमा परिवर्तन गर्दै जाने गरी हलेसी बजारमा कृषि मार्ट सञ्चालन गरिएको नगर प्रमुख राईले बताएका छन् । “त्रिधार्मिकस्थल हलेसी सबैको आस्थाको धरोहर हो । यहाँ हजारौँ मानिसको आवतजावत हुन्छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा पु¥याउन सकिएको छैन । नगरपालिकाले यसतर्फ मध्यनजर गर्दै कृषि मार्ट सञ्चालनमा ल्याइएको छ”, उनले भने, “मार्ट सञ्चालकले नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषिउपज खरिद गर्नुपर्छ । कृषकबाट खरिद गरिएको कृषिउपज मार्ट सञ्चालकले २० प्रतिशतसम्म मात्र नाफा लिएर बिक्री गर्छन् । विगतमा कृषिउपज बिक्री नहुने, उचित मूल्य नपाउने, बिक्री गर्न घरमा बोकेर डुलाउँदै जानुपर्ने कृषकको बाध्यता थियो । कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकको उक्त समस्या समाधान भएको छ ।”

मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा आगामी दिनमा दूध डेरीसमेत सञ्चालनको लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ । दूध उत्पादनको लागि नगरपालिकाले भैँसी प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

हरेक दिन सयौँको सङ्ख्यामा त्रिधार्मिकस्थल हलेसीमा पर्यटक आउने गरेका छन् । जसकारण हलेसी क्षेत्रका होटल प्रायः सधैँ चलायमान हुन्छन् । तर, व्यवस्थापन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज कुहिएर जाने र बाहिरबाट तरकारी भित्रिने गरेको थियो ।

नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकले उत्पादन गरेको सबै कृषिउपज बिक्री हुने विश्वास लिइएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक तथा भक्तजन आउने भएकाले पनि उक्त कृषि मार्ट निरन्तर सञ्चालन हुनेमा कृषक ढुक्क छन् ।