कर्णाली प्रदेश

सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

२३ फागुन, खजुरा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–२० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नेपालगञ्ज नगरप्रमुख प्रशान्त विष्टले मङ्गलबार नवनिर्मित भवनको शुभारम्भ गरे । महिला–पुरुष अपाङ्गतामैत्री शौचालयसहित १६ शय्या (बेड) क्षमताको दुई ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डरसमेतको भवन सञ्चालनमा आएको हो ।

विसं २०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पुस २८ मा सम्पन्न भएको हो । रु एक करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने रु दुई करोड रहेको छ । कुल क्षेत्रफल एक हजार तीन सय २१ वर्गमिटर रहेकामा भवनले ओगटेको क्षेत्रफल भने तीन सय २५ वर्गमिटर छ ।

खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आयोजना व्यवस्थापन कार्यालय प्रमुख रत्नप्रसाद लामिछानेले नगरप्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनका लागि स्वामित्वपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने जनाउँदै स्थानीयको स्वास्थ्य सेवामा थप सहज पहुँच पुग्ने अवस्था बनेको बताए।