स्वास्थ्य

तनहुँमा ६ महिनामा क्षयरोगबाट ७ जनाको मृत्यु

३० फागुन, तनहुँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिकामा तीन, भानु नगरपालिकामा एक, बन्दीपुर गाउँपालिकामा एक, देवघाट गाउँपालिकामा एक र भिमाद नगरपालिकामा एकजना रहेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति सुदीप कँडेलले जानकारी दिए ।

तनहुँमा चालु आर्थिक वर्षमा एक सय ५७ जनामा क्षयरोग पुष्टि भएको छ । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ सङ्क्रमित रहेका छन् । कँडेलका अनुसार भानु नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिकामा २०, भिमाद नगरपालिकामा १३, देवघाट गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, घिरिङ गाउँपालिकामा सात, बन्दीपुर गाउँपालिकामा सात, म्याग्दे गाउँपालिकामा छ र ऋषिङ गाउँपालिकामा तीनजनामा क्षयरोग पुष्टि भएको छ ।

क्षयरोग नियन्त्रणका लागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाइन्छ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखापर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएको स्वास्थ्यकर्मी बताउँछन् ।

छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए । उनले अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको बताए ।

“उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उनले भने, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।” क्षयरोगी पहिचानका लागि कार्यालयले समुदायस्तरमै पुगेर खोजपडताल अभियान सुरु गरेको छ । जन्त्र नामक संस्थासँगको सहकार्यमा क्षयरोगी पहिचान गर्न समुदायस्तरमै पुग्ने गरिएको अधिकारीले बताए ।

क्षयरोगको शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ”, उनले भने ।