कर्णाली प्रदेश

सुर्खेतको वीरेन्द्रनगरका अस्थायी संरचना हटाइँदै

३० फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ को हटिया लाइन क्षेत्रमा अस्थायी संरचना हटाउन सुरु गरेको हो ।

नगर विकास समितिले गत माघ १७ गते व्यापारीलाई आफ्ना संरचना भत्काइ सरकारी जग्गा खाली गराउन सूचना जारी गरेको थियो । यही फागुन २३ गते नै समय सकिएको भए पनि नगरपालिकाले फागुन ३० गतेसम्म संरचना हटाउन समय उपलब्ध गराएको थियो । तर, व्यवसायीले उचित विकल्प नदिएको भन्दै संरचना हटाउनुको साटो आन्दोलन थालेपछि नगरपालिकाले आफैँ संरचना हटाउन थालेको जनाएको छ ।

वीरेन्द्रनगर–६ को हङ्कङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको नगरपालिका प्रमुख मोहोनमाया ढकालले बताए । नगरपालिकाले डोजर चलाउन थालेपछि केही व्यापारीले ढुङ्गामुढा गरेपछि केहीबेर तनाव भएको थियो ।

व्यवसायीको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने नगरपालिकाका तीन जना कर्मचारी घाइते भएका छन् । नगरप्रमुख ढकालले प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको र अस्थायी संरचना हटाइने बताए ।