स्वास्थ्य

पर्वत जिल्लाबाटै आँखाको शल्यक्रिया भएपछि ज्येष्ठ नागरिक हर्षित

३० फागुन, पर्वत । जिल्लाबाटै आँखाको शल्यक्रिया सेवा पाएपछि पर्वतका ज्येष्ठ नागरिक हर्षित भएका छन् । पर्वतमा सक्रिय लायन्स क्लबको संयुक्त आयोजनामा पहिलोपटक सदरमुकाम कुश्मा बजारस्थित जिल्ला अस्पतालमा मोतीविन्दुको शल्यक्रिया शिविर सञ्चालन भएको हो । फागुन २६ गतेदेखि सुरु भएको आँखा जाँच तथा मोतीविन्दुको शल्यक्रिया सेवा आज सकिएको छ । फागुन २६, २७ र २८ गते जिल्लाका विभिन्न स्थानमा आँखाका बिरामीको परीक्षण तथा मोतीविन्दुको पहिचान गरिएको थियो ।

परीक्षणका क्रममा ३९ जना मोतीविन्दुुका बिरामी भेटिएका थिए । सबै जनाको जिल्ला अस्पतालमै शल्यक्रिया गरिएको लायन्स क्लब अफ शिवालय कुश्माका अध्यक्ष मीनप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाभर तीन सय ५० जनाभन्दा बढीको आँखा परीक्षण गरिएको थियो । कतिपय बिरामीको दुवै आँखाको शल्यक्रिया पनि गरिएको थियो । सामान्य समस्या देखिएकालाई निःशुल्क औषधि र चश्मासमेत वितरण गरिएको थियो ।

शिविरमा हिमालय आँखा अस्पताल पोखरा र पर्वत अस्पतालको प्राविधिक सहयोग रहेको थियो । जिल्लास्थित लायन्स क्लब अफ शिवालय कुश्मा, लायन्स क्लब अफ पर्वत मोदीकाली, लायन्स क्लब अफ पर्वत कुश्मा सिटी र लायन्स क्लब अफ पर्वत कालीगण्डकीले संयुक्तरुपमा शिविर आयोजना गरेका थिए ।

पर्वतमा आँखाको सामान्य परीक्षण हुने भए पनि जटिल समस्या भएका र मोतीविन्दुु लागेका बिरामी भने उपचारका लागि पोखरा, काठमाडौँलगायत सहरमा जानुपर्ने बाध्यता थियो । जिल्लामै शल्यक्रियासहितको शिविर सञ्चालन भएपछि वृद्धवृद्धा तथा असहाय नागरिक लाभान्वित भएका पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।

पर्वत अस्पतालमा यसअघि छातीसम्बन्धी विशेषज्ञ शिविर सञ्चालन गरिएको थियो । विभिन्न सामाजिक सङ्घ संस्थाले अस्पतालसँगको सहकार्यमा नागरिकलाई प्रत्यक्ष लाभ हुने स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।