समाचार

सहकारीपीडितको माग सम्बोधन गर्न मानवअधिकार आयोगको आग्रह

६ चैत, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सहकारीपीडित बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

  शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेस गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताको माग सम्बोधन गर्न आयोगले आग्रह गरेको हो ।

  सहकारीपीडित बचतकर्ताले काठमाडौँमा यही चैत १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगबाट प्रदर्शनकारी घाइते भएको अवस्थाप्रति आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ । सहकारीपीडितले शान्तिपूर्ण प्रदर्शन, सुन्धारामा भएको ¥याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

  यही चैत १ गते साँझ करिब ७ बजेपश्चात् सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीलगायतका अन्य केही व्यक्तिलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भनी आयोगमा ज्ञापनपत्र प्राप्त भएकोसमेत आयोगले जनाएको छ । आयोगका अनुसार यस सम्बन्धमा आयोगमा उजुरीसमेत दर्ता भएको छ । प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष केसी यही चैत १ गतेदेखिेका छन् ।

   अध्यक्ष केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको जनाइएको छ । पीडित बचतकर्ताले हालसम्म ३०२ सहकारीका पीडित अभियानमा जोडिन आएको आयोगको टोलीलाई बताएका छन् । आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्याको समाधान गर्न माग गरेको छ ।