स्वास्थ्य

एचपीभी खोपको दोस्रो मात्रा लगाउन सुरु

७ चैत, काठमाडौँ । सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।

पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए । उनका अनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ ।

कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेशको नारायणी अस्पताल विरगञ्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा आजदेखि खोप लगाउन सुरु गरिएको हो । लुम्बिनी प्रदेशको भेरी अस्पतालमा भने मङ्गलबारदेखि खोप लगाउन सुरु गरिएको छ ।

बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यही चैत ८ गतेदेखि, सुदुरपश्चिमको डडेल्धुरा अस्पतालमा यही चैत १५ गतेदेखि दोस्रो मात्रा खोप लगाइने खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए । सरकारले गत भदौ अन्तिम सातादेखि खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो मात्रा खोप एक हप्ताभित्र प्रदान गरिने उनले बताए । उनका अनुसार करिब १० हजार मात्रा खोप सम्बन्धित अस्पतालमा पठाइसकिएको छ ।

सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो । १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो ।

खोप शाखाका प्रमुख डा गौतमले १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको बताए । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा चितवन र कास्कीमा लगाएको थियो । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरैमा देखिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले बताए । उनका अनुसार विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ ।

प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.शाहीले ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको भन्दै खोप शतप्रतिशत सुरक्षित र ९९ प्रतिशत प्रभावकारी रहेको बताए । उनका अनुसार भाइरसका कारण ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान तथा सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।