शिक्षा

शिक्षा, स्वास्थ्य समितिको सभापतिमा थापा निर्वाचित

७ चैत, काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा अम्मरबहादुर थापा निर्वाचित भएका छन् । समितिको सभापतिमा आज निर्वाचित भएलगत्तै उनले आजै बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरे ।

नव निर्वाचित सभापति थापाले शिक्षालाई विशेष सुधार गरेर लग्न आफ्नो प्रयत्न हुने बताए । “म पाएको जिम्मेवारी राम्ररी फत्ते गर्नेमा विश्वास राख्छु”, उनले भने, “स्वास्थ्य र शिक्षा संवेदनशील विषय हुन् । शिक्षा क्षेत्रको बृहत् सुधारका लागि ऐन बन्दैछ । शिक्षाको गुणस्तरमा वृद्धि र शिक्षकलाई कर्मचारीसरह बनाउनेदेखि सबै जनताको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर समितिमा काम गर्नेछु ।”

नवनिर्वाचित सभापति थापाले बिहीबार पदबहाली गर्ने कार्यक्रम रहेको छ । दोलखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट प्रतिनिधित्व गर्छन् ।