प्रदेश 1

खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित

२४चैत, खोटाङ : खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट छ हजार छ ३८ जना लाभान्वित भएका समाजले जनाएको छ ।

विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक स्थानमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा गाइनोकोलोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको समाजका अध्यक्ष डा. प्रमोद राईले बताए । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । शिविर सञ्चालनमा रु तीन करोड दश लाख खर्च भएको उनले जानकारी दिए । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित बृहत् स्वास्थ्य शिविरको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यही चैत १४ गते उद्घाटन गरेको थिए ।