समाचार

कांग्रेसको नयाँ निर्णय – महाधिवेशनमा डिजिटल निर्वाचन प्रणाली लागू गर्ने

२१ असार, ललितपुर । नेपाली कांग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारीस्वरूप निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा पेपरलेस प्रविधिलाई प्राथमिकता दिने निर्णय गरेको छ।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशन तोकिएको समयमै स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्ने निर्णय गरेको हो।

समितिले पेपरलेस मतदान प्रणालीसँगै आवश्यकताअनुसार विद्युतीय मतदान मेसिन (EVM) प्रयोग गर्ने तयारीसमेत अघि बढाउने जनाएको छ।

बैठकले निर्वाचन प्रक्रिया सुरु भएपछि लागू हुने आचारसंहिताको पूर्ण पालना गर्न केन्द्रीय कार्यसमितिदेखि सबै तहका पार्टी निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका निर्वाचन अधिकृत नियुक्त गर्दा महिला कानुन व्यवसायीलाई प्राथमिकता दिने निर्णय गरिएको छ।

साथै, निर्वाचन व्यवस्थापनमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेशागत समूहबाट स्वयंसेवकको रोस्टर तयार गरी अभिमुखीकरणपछि निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने योजना पनि समितिले अघि सारेको छ।

कांग्रेसले यी निर्णयहरू केन्द्रीय कार्यसमितिलाई जानकारीका लागि पेश गर्ने जनाएको छ।