कृषि

गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

२८ चैत, तम्घास (गुल्मी) । पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला गुण र खुदोको लागि प्रख्यात मानिन्छ ।

देशका ठूला सहरका साथै विदेशी बजारमा गुल्मीको गुँड तथा खुदोको माग बढ्न थालेको स्थानीय बताउँछन् । विगतका वर्षमा किसानले परम्परागत खेती गर्दै आएकामा पछिल्लो समय भने उखुको व्यावसायिक खेती गर्दै आएका छन् ।

कतिपय कृषिजन्य सामग्रीले बजार नपाइरहेका बेला उखुबाट बनेका गुँड र खुदोलाई भने बजारको कुनै समस्या नहुँदा जीविकोपार्जनमा सहजता मिलेको किसान चोलनाथ ज्ञवालीले बताए । “पहिले–पहिले बजारको समस्या थियो । अहिले भने कुनै समस्या छैन”, उनले भने, “उखुबाट बनाउने गुँड र खुदो बेचेर घरखर्च सहजरुपमा भइरहेको छ ।”

विदेशी बजारसम्म गुल्मीको खुदो

छत्रकोट गाउँपालिकास्थित दिगाम, हर्दिनेटा, खज्र्याङ, मानकोटका साथै रुरुक्षेत्र गाउँपालिकाको थोर्गा, थानपतिलगायत स्थानमा उखुको राम्रो उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादन भएकोे गुँड तथा खुदो स्थानीय बजार रिडी हुँदै पाल्पा, बुटवल, पोखरा, काठमाडौंँका साथै विदेशी बजारसम्म पुग्ने गरेको छ ।

खुदो प्रतिलिटर रु एक सय ८० देखि दुई सय ५०, सादा गुँडको एक सय ७० र मसलावाला गुँडको रु दुई सय ५० मा प्रतिकिलो बिक्री हुने गरेको किसान सन्तोष पौड्यालले बताए । अन्य बालीमा जस्तै उखुमा पनि बाँदर आतङ्कबाट किसानले हैरानी खेप्नुपरिरहेको उनले गुनासो गरे ।

“उत्पादन गर्न बाँदर प्रमुख समस्या बनेको छ”, पौड्यालले भने, “बाली जोगाउन सके बजारमा जति पनि बिक्री हुन्छ ।” बाँदर नियन्त्रणका लागि सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिए । हाल गुल्मीमा एक सय ७९ हेक्टर क्षेत्रफलमा उखु लगाइएको ज्ञान केन्द्रले जनाएको छ । वार्षिक दुई करोडको उखु, गुँड तथा खुदो निर्यात हुने गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा उखु उत्पादन वृद्धि गर्नको लागि कृषि ज्ञान केन्द्रले ‘जीतपुर–८’ नामको बीउसमेत वितरण गरेको छ । उखुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रले परीक्षणका रुपमा उखु अनुसन्धान केन्द्रबाट बीउ ल्याएर वितरण गरेको कार्यालयका प्रमुख नवराज भण्डारीले जानकारी दिए । साथै उखु किसानलाई पालिकाले बाँझो जग्गामा अनुदान दिने कार्यक्रम लागु गरेको उनको भनाइ छ ।