समाचार

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

२३ वैशाख, काठमाडौँ । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएका हुन्  । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन्  ।

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्नेछन्  । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्  । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछन्  ।