१७ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् ।
‘उपचारमा संलग्न चिकित्सकको सल्लाह अनुसार उहाँलाई डिस्चार्ज गर्ने तयारी छ । परिवारका सदस्यसँग कुरा गरेर आजै वा भोलि डिस्चार्ज गर्छौं’ उनले भनिन् ।
डा। थापाका अनुसार डिस्चार्ज भए पनि शाक्यको उपचार जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । ‘घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ । हाडजोर्नी विशेषज्ञ, न्यूरो सर्जरी, ईएनटी नाक, कान, घाँटी र आँखाका विशेषज्ञसँग निरन्तर सल्लाहमा बस्नुपर्ने हुन्छ’, डा. थापाले भनिन् ।





