१७ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको सानो प्रयासले बाढीपहिराबाट हुने जनधनको क्षति कम गर्न सकिने बताएका छन् ।
जल तथा मौसम विज्ञान नीति-२०८१ को मस्यौदाबारे आज मन्त्रालयमा छलफल गर्दै उनले जलवायु परिवर्तनका कारण बाढीपहिरो जाँदा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसलाई रोक्नका लागि सरकारले काम गर्नुपर्ने बताए । “हामीले जल तथा मौसमका क्षेत्रमा पूर्वसूचना दिँदा बाढीपहिरो तथा विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई कम गर्न सक्छौँ”, उनले भने। जल तथा मौसम पूर्वानुमानको क्षेत्रमा सानो प्रयासले ठूलो काम हुने भएकाले त्यसतर्फ लाग्नुपर्ने उनले उल्लेख गरे ।
मन्त्री खड्काले जल तथा मौसमका क्षेत्रमा आवश्यक ऐन, कानुन, नीति, नियम निर्माणलाई उच्च प्राथमिकता राख्नुपर्ने बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव कमलराम जोशीले सन् २०२७ मा सबै जनतामा जल तथा मौसमसम्बन्धी पूर्वसूचना पु¥याउनुपर्ने भएकाले जल तथा मौसम विज्ञान नीति-२०८१ लाई चाँडो पास गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले जल तथा मौसमको पूर्वानुमानलाई व्यवस्थित र भरपर्दो बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे ।
हाल जल तथा मौसम विज्ञान विभागले तीन दिन अगाडि पूर्वसूचना दिने गरेपनि आगामी दिनमा त्यसको समयलाई बढाउनुपर्ने आवश्यक रहेको उनको भनाइ थियो । जल तथा मौसम विज्ञान विभागले हाल देशभरका आठ सय जल तथा मौसम मापन केन्द्रमार्फत पूर्वसूचना लिने गरेको छ ।





