२५ भदौ, ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषि क्षेत्रमा आश्रित जनसङ्ख्या न्यूनीकरणगरी लागत कम र उत्पादन धेरै हुने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।
नेपाल किसान महासङ्घ केन्द्रीय समितिको छैटौँ बैठकको सुभारम्भका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले कृषि क्षेत्रमा आश्रित जनसङ्ख्याको तुलनामा अन्य क्षेत्रमा आश्रितको आयस्तर र जीवनशैली उच्च भएकाले त्यहीअनुसार कृषि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने बताए ।
“सम्पूर्ण राष्ट्रिय उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै छ, ७६ प्रतिशत योगदान अन्य क्षेत्रमा रहेका ४० प्रतिशत जनसङ्ख्याको रहेको छ, यसले कृषिमा निर्भर जनसङ्ख्याको आयस्तर कमजोर भएको देखाउँछ,” प्रवक्ता महतले भने, “अहिले कृषिमा निर्भर रहेका ६० प्रतिशत जनसङ्ख्याको आयस्तर वृद्धि गर्नुपर्ने हाम्रोसामु चुनौती रहेको छ । यसका लागि कृषिमा आश्रित केही जनसङ्ख्यालाई अझै अरु क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ र अर्कोतिर कम जनसङ्ख्यालाई सहभागी गराई उत्पादकत्व वृद्धि गर्नेतीर ध्यान दिनुपर्छ । अहिले हाम्रो कृषि उत्पादनमा खर्च ज्यादा आम्दानी कम भएको अवस्था छ, यसलाई परिवर्तन गर्न आवश्यक छ ।”
नेपालमा कुनै समय ९५ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेकामा अहिले ६० प्रतिशत मात्रै रहेको जानकारी दिँदै उनले उत्पादकत्व वृद्धि गर्न अझै केही प्रतिशत जनसङ्ख्यालाई कृषिमा निर्भरताबाट अन्य क्षेत्रमा प्रोत्साहित गरिनुपर्ने बताए ।
“अमेरिकामा दुई प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छन्, उनीहरुले आफ्नो देशलाई चाहिने सम्पूर्ण खाद्यान्न पु¥याएर संसारभर निर्यात गरिरहेका छन् । हामी कृषि प्रधान देश भन्छौँ, ६० प्रतिशत जनता कृषिमा लाग्दा पनि हामी गैर कृषिमा लागेका ४० प्रतिशत जनसङ्ख्यालाई पनि खाद्यान्नलगायत कृषि उत्पादन पु¥याउन सकिरहेका छैनौँ,” डा महतले भने, “कृषिमा आश्रित जनसङ्ख्यासँग खेतीका लागि पर्याप्त जमिन छैन, सबै ठाउँमा मल र सिँचाइको व्यवस्था गर्न सकेका छैनौँ । हामी पुरानो प्रविधिमा छौँ, नयाँ प्रविधिलाई कृषि क्षेत्रमा लागू गर्न सकेका छैनौँ । यातायात र पूर्वाधारका क्षेत्रमा पनि हामीले पर्याप्त व्यवस्था गर्न सकेका छैनौँ, भण्डारणको व्यवस्था पनि गर्न सकेका छैनौँ ।”
डा महतले विदेशबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन भने सरकारले अनुदान दिएर प्रतिस्पर्धी बनाउन सक्नेगरी प्रोत्साहित गर्नुपर्छ भने । उनले नेपाली उत्पादनलाई प्रोत्साहित गर्न विदेशबाट आउने पदार्थको भन्सार वृद्धि गर्न सकिन्छ भन्दै जापानले पनि आत्मनिर्भर हुन त्यही गरेको उल्लेख गरे ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफू खेतीकिसानी गरेर आएको व्यक्ति भएको भन्दै मन्त्रालयमा रहेर कृषि क्षेत्रको उत्थानका लागि सक्दो प्रयास गर्ने बताए ।
कार्यक्रममा सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापा, नेपाली कांग्रेस कृषि तथा किसान विभागका प्रमुख उमेश श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।





