समाचार

सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन आवश्यक : सांसद

२५ भदौ, काठमाडौँ । सांसदहरुले सर्वोच्च अदालतले बागमती र अन्य नदी किनारामा थप २० मिटर क्षेत्रमा संरचना बनाउन रोक लगाउने फैसला पुनरावलोकन हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद घनश्याम रिजालले सर्वोच्च अदालतको फैसला पुनरावलोकन नभए हजारौँ नागरिक प्रभावित हुने बताए । “यसबाट खर्बौको लगानी डुब्ने र नागरिकको मौलिक हकसमेत हनन् हुने अवस्था छ”, उनले भने, “उक्त निर्णय कार्यान्वयन भए राज्यले तीन खर्ब १६ अर्ब मुआब्जा तिनुपर्छ । यो निर्णय पुनःविचार गर्न आवश्यक छ ।”

उक्त निर्णय कार्यान्वयनबाट मुलुकको पुरातात्विक सम्पदाको समेत विनाश हुने भएकाले पुनरावलोकनका लागि सरकारलाई आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत उनले सुझाव दिए ।

सांसद मोहम्मद खालिदले कृषिमा बर्सेनि सरकारको लगानी बढे पनि कृषि उब्जनीमा वृद्धि हुन नसकेको बताए । “किसानले समयमै मल पाएका छैनन्, सिँचाइ सुविधा पाउन सकेका छैनन्”, उनले भने, “अनि कसरी कृषि उब्जनी बढ्छ”

सांसद बामदेव गौतमले समाजवाद निर्माण गर्न आवश्यक रहेको बताए । सांसद नारायणदत्त भट्टले सुदूरपश्चिमका सबै जनतामा स्वास्थ्यको पहुँच पुग्न नसकेको बताए । सांसद शेखरकुमार सिंहले हजारौँ सहिदका कारण आजको परिवर्तन सम्भव भएको उल्लेख गरे । सांसद सुमित्रा विसीले जनताका समस्या समाधान गर्न र सुशासन कायम राख्नुपर्ने बताएका छन् ।