समाचार

साहारा सहकारी ठगी प्रकरण : ३७ करोड बिगो मागदाबी गर्दै जीबीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

९ असोज, काठमाडौँ । विभिन्न सहकारी ठगेर फरार रहेका गीतेन्द्रबाबु राई जीबीविरुद्ध जिल्ला अदालतल चितवनमा पनि सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा उनीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

राई अझै परार छन् । उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत ‘रेड नोटिस’समेत जारी भइसकेको छ । उनी मलेसियामा रहेको खुले पनि त्यहाँको प्रहरीले उनलाई पक्राउ गरेर नेपाल फर्काउन इन्कार गर्दै आएको छ ।

राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष राईसहित, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो । प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।