१० असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको बताएका छन्।
साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा आज यहाँ आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा सुरु भए तापनि दुई देशबीच शताब्दीयौँदेखिको सम्बन्ध रहँदै आएको उल्लेख गरे ।
उनले भने, “आज हाम्रो सम्बन्ध समानता, सार्वभौमसत्ता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रही थप सुदृढ भएको छ । पूर्वाधार र प्रविधिका क्षेत्रमा सहकार्यदेखि सांस्कृतिक र शैक्षिक आदानप्रदानसम्म, हाम्रो सम्बन्ध विभिन्न क्षेत्रमा फैलिनेक्रम जारी छ ।”
मन्त्री गुरुङले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुयाउन समय समयमा दुईदेशका राष्ट्रप्रमुख एवं उच्चस्तरीय भ्रमण नियमित रुपमा भइरहेको उल्लेख गर्दै यस प्रकारको भ्रमणले नेपाल र चीनबीचको शताब्दीयौँदेखिको मैत्रीपूर्ण सम्बन्ध झन् विकसित भइरहेको बताए ।
“डिजिटल रूपान्तरण, नवप्रवर्तन र मिडिया टेक्नोलोजीको पूर्वाधार विकास र ज्ञानको आदानप्रदानलगायत क्षेत्रमा सहकार्य हाम्रा दुई राष्ट्रहरूको भविष्यका लागि महत्वपूर्ण छ”, उनले भने, “म विश्वस्त छु कि यस शिखर सम्मेलनले दुवै देशका सञ्चारकर्मीका लागि पारस्परिक लाभ, ज्ञान आदानप्रदान र अवसरको नयाँ ढोका खोल्नेछ ।”
पौराणिककालदेखि आजपर्यन्त चीन नेपालको महत्वपूर्ण व्यापारिक साझेदार रहँदै आएको बताउँदै मन्त्री गुरुङले नयाँ चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव मनाइरहँदा यसविचमा चीनले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत, विज्ञान र सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा चामत्कारिक विकास गरेको र आफूलाई विश्व अर्थतन्त्रको नेतृत्वदायी मुलुकका रूपमा स्थापित गरेको उल्लेख गरे । त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालले लाभ लिँदै आएको उनको भनाइ थियो ।
गलत सूचना, विकृति र घृणित अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको उनले उल्लेख गरे । उनले स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिताको विकासलाई सरकारले आफ्नो मुख्य उदेश्यका रुपमा राख्दै पुराना नीति कानुनलाई परिमार्जन गरी समयसापेक्ष कानुन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी गराए । सरकारले मिडिया सशक्तीकरण र सञ्चारकर्मीको व्यक्तिगत तथा व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संसार अहिले ठूलो विकास, परिवर्तन र समायोजनको समयमा रहेकाले अभूतपूर्व अवसर र चुनौतीको सामना गर्दै, सबै देशका मिडियाले समयको प्रवाहसँग अनुकूलनका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले हालका वर्षमा नेपाल र चीनका मिडियाहरूले आफ्नो विशेषता र क्षमताको पूर्ण उपयोग गर्दै, विकासको सहकार्य र सामूहिक लाभको समावेशी धारणा व्यापक रूपमा फैलाएको बताए ।
उनले भने, “यसले साँचो र सटिक, समग्र र विश्वसनीय समाचार सूचनाको प्रसारमा सामाजिक जिम्मेवारीका रूपमा महत्वपूर्ण भूमिका निभाएको छ र नेपाल–चीनबीचको सहयोग र अन्तरक्रियाको सशक्त आधारलाई निरन्तर सुदृढ पार्नमा योगदान दिएको छ । म नेपालमा चीनको दूतावासकोतर्फबाट, नेपाल–चीन सम्बन्धको विकासमा लामो समयदेखि चासो र समर्थन गर्ने दुई देशका मिडिया साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।”
कार्यक्रममा साउथ एसिया नेटवर्क टेलिभिजनका अध्यक्ष होउ झिहोङले दुई देशबीचका सञ्चारमाध्यमको सहकार्यमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै अझ प्रगाढ बनाउन नेपाल–चीन मैत्री सम्बन्धको विकासमा नयाँ ऊर्जा थप्न र राम्रो भविष्य सिर्जना गर्न सबैलाई कडा परिश्रमका लागि आग्रह गरे ।
नेपाल चाइना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था मिडियाका प्रधान सम्पादक किशोर श्रेष्ठले दुई देशबीचका सम्बन्धमा थप प्रगाढ बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसबाट सूचना, सञ्चार र प्रविधिको सहयोगमा आदानप्रदान हुने धारणा व्यक्त गरे ।
सम्मेलनमा विभिन्न नेपाली तथा चिनियाँ सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी एवं गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न चिनियाँ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित थिए ।





