११ असोज, बागमती । अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले आज साँझ सूचना जारी गर्र्दै कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरका हुन् ।
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गरे । मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्न समेत अनुरोध गरिएको उनले बताए ।





