समाचार

सूर्य दर्शन सहकारी ठगी प्रकरण : थप एक जना पक्राउ

१५ असोज, काठमाडौँ । सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ३२ वर्षीया लिला पछाई रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार उनले गितेन्द्र बाबु राईसँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा हालेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने कार्य गरेका थिए।

कास्कीको पोखरा महानगरपालिका-४ नालाकोमुखस्थित सञ्चालनमा रहेको सूर्य दर्शन सहकारीको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरीत हिनामिना एवं अपचलन गरेको पाइएको सूचना अधिकारी शर्माले बताए।