आर्थिक

एक दिन पनि टिकेन सेयर बजारको हरियाली,नेप्से २५ सय विन्दुमा झर्‍यो

१६ असोज, काठमाडौँ । मंगलबार एकाएक उछाल देखिएको सेयर बजारले फेरि ओरालो यात्रा तय गरेको छ। आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से परिसूचक ११४ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब माथिको कारोबार भएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१० स्क्रिप्सको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपैयाँमा खरिदबिक्री भए। आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर ९.९६ प्रतिशतले बढ्दा इस्टर्न हाइड्रोपावरको ९.४५,अपर हेवाखोला हाइड्रोपावरको ८.०२ र नवील ब्यालेन्स फण्ड-२ को ७.९१ प्रतिशतले बढ्यो। यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। न्यादी हाइड्रोपावरको सेयर ९.२० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा यसदिन नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड ७१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी हिमालयन रिइन्स्योरेन्सको १७ करोड मूल्य बराबरको कारोबार हुँदा गुडविल फाइनान्स,नेपाल बैंकको १५/१५ करोड मूल्यको सेयर कारोबार भयो।

शिवम् सिमेन्टको भने १३ अर्ब बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका ५४ स्टक्सको मूल्य बढ्दा १८७ वटाको घट्यो। यसदिन ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। फाइनान्स समूहको परिसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक १.७५ प्रतिशतले बढ्यो।