२२ असोज, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेइ नोभिकोभले शिष्टाचार भेट गरेका छन्।
आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत नोभिकोभले शिष्टाचार भेट गरेका हुन् । भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायत विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष दाहालले नेपाल–रुसबीच विगतदेखि नै सरकार र जनस्तरसम्म सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सहकार्यले आगामी दिनमा यस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
उनले नेपालको सङ्घीय संसद्मा नेपाल–रुस संसदीयमैत्री समूह गठन गरिएको र यस समूहले दुई देशबीचको संसदीय सम्बन्ध तथा अनुभव आदानप्रदान गर्न सहज हुने बताए । नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाडौं–मस्को सिधा हवाइ सुविधा सञ्चालनका लागि पहल गर्न आग्रह गरे ।
नेपालको कृषि, प्रविधि र ऊर्जाका क्षेत्रमा लगानीका लागि रुसी लगानीकर्तालाई प्रोत्साहित गर्न आग्रह गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पु¥याउन बढीभन्दा बढी रुसी नागरिकले नेपाल भ्रमण गर्ने गरी वातावरण बताउन पनि अनुरोध गरे । यस्तै, रुस–युक्रेन युद्धपछि नेपाली युवा विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो राख्दै उनले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रहसमेत स्मरण गराएका थिए । त्यसअवसरमा राजदूत नोभिकोभले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आपसी हितका साथै सहयोग आदानप्रदान र सहकार्य बढाउँदै जानुपर्ने बताए ।
उनले नेपालमा पर्यटनको सम्भावनाबारे चर्चा गर्दै लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि हुने विश्वास व्यक्त गरे । नेपालले जलविद्युत् उत्पादनबाट राम्रो आम्दानी गर्नसक्ने र यस क्षेत्रमा लगानी गर्न रुसका लगानीकर्ता इच्छुक रहेको राजदूत नोभिकोभको भनाइ थियो । उनले जलविद्युत् उत्पादन, हवाइ सेवा विस्तार, अन्तरिक्षमा संयुक्त उडान, प्रविधिलगायत क्षेत्रमा रुसले नेपालमा काम गर्ने र यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । यस्तै नेपाली विद्यार्थीहरूलाई रुसमा छात्रवृत्तिको व्यवस्था गरिएकाले हाल ४२ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको र केही समयमै छात्रवृत्तिको सङ्ख्या बढाएर दुई सयसम्म पु¥याउने योजना राजदूत नोभिकोभले जानकारी दिए ।