९ कात्तिक, कम्पाला । युगान्डाको एक अदालतले शुक्रबार लर्ड्स रेजिस्टेन्स आर्मी एलआरएका पूर्व कमान्डर थोमस क्वोयेलोलाई एउटा ऐतिहासिक युद्ध अपराध मुद्दामा समूहको दुई दशक लामो आतङ्कमा उनको भूमिकाका लागि ४० वर्षको कारावास सजाय सुनाएको छ ।
युगान्डाको अदालतमा युद्ध अपराधका लागि खतरनाक सङ्गठनका कुनै सदस्यलाई मुद्दा चलाइएको यो पहिलो पटक हो । उक्त सङ्गठनले राष्ट्रपति योवेरी मुसेभेनी विरुद्ध दुई दशक लामो विद्रोह गरेको थियो ।
अगस्टमा ४४ वटा युद्ध अपराध र मानवता विरुद्धको अपराधमा दोषी ठहर गरिएका क्वोयेलो विरुद्धको सजाय उत्तरी शहर गुलुमा उच्च अदालतको अन्तर्राष्ट्रिय अपराध विभाग आइसिडी मा मुद्दाका प्रमुख न्यायाधीश माइकल एलुबुले घोषणा गरेका थिए ।
न्यायाधीश एलुबुले क्वोयेलोलाई १४ दिनभित्र सजाय र÷वा दोषी ठहर विरुद्ध अपिल गर्ने अधिकार रहेको बताए ।
उनी विरुद्धका आरोपहरूमा हत्या, बलात्कार, यातना, लुटपाट, अपहरण र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका बस्तीहरूको विनाश समावेश थिए ।
क्वोयेलोले यसअघि आफू विरुद्धका सबै आरोपहरूलाई अस्वीकार गरेका थिए । उनलाई १२ वर्षको उमेरमा एलआरएले अपहरण गरेको थियो र उनी निम्नस्तरको कमान्डर बनेका थिए ।
एलआरए पूर्व अल्टार बोय र स्व–घोषित भविष्यवक्ता जोसेफ कोनीले सन् १९८० को दशकमा दश आज्ञाका आधारमा शासन स्थापना गर्ने उद्देश्यले युगान्डामा स्थापना गरेका थिए ।
सङ्गठनको विद्रोहमा युगान्डादेखि सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मध्य अफ्रिकी गणतन्त्रसम्म फैलिएको आतङ्कको शासनमा एक लाखभन्दा बढी मानिस मारिए र ६० हजार बालबालिका अपहरणमा परेका थिए ।





