समाचार

सरकार ढलाउने र बनाउने खेलमा माओवादी नलागेको महासचिव गुरुङको स्पष्ट

२१ कात्तिक, म्याग्दी । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र म्याग्दीले आज बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सुशासन बिनाको विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताए ।

“राजनीतिक उपलब्धिको रक्षा, सामाजिक न्याय र सुशासननै अहिलेको मुद्दा हुन्,” उनले भने, “भ्रष्टाचारको विरोधी अभियानलाई थप सशक्त बनाउन आवश्यक छ ।”

कानुन कार्यान्वयन र अनुसन्धानको विषयमा राज्यले पूर्वाग्राही व्यवहार देखाउन नहुने बताउँदै उनले भीड र हल्लाले न्यायसम्पादन प्रभावित पार्न नहुने विचार व्यक्त गरे ।

राष्ट्रियताको मुद्दा कमजोर हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले वैदेशिक र आन्तरिक स्वार्थ समूहको हस्तक्षेपबाट टाढा रहनुपर्ने बताए । सरकार ढलाउने र बनाउने खेलमा माओवादी नलागेको स्पष्ट पार्दै महासचिव गुरुङले जनताका समस्या पहिचान र समाधानमा अग्रसर बन्न माओवादी नेता कार्यकर्तालाई निर्देशन दिए ।