१४ मङ्सिर, सुदूरपश्चिम । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघको गणना सुरु गरिएको छ । निकुञ्जको जङ्गल क्षेत्रमा क्यामेरा ‘ट्यापिङ’ विधिबाट बाघको अनुगमन तथा गणना सुरु गरिएको हो । यसका लागि जङ्गल क्षेत्रको आवश्यक ठाउँमा क्यामेरा जडान गरिएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले क्यामरा ‘अन’ गरेर आज बाघ गणना कार्यको थालनी गरे । सो अवसरमा निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले निकुञ्जका गतिविधि बारेमा प्रकाश पारेको थिए ।
निकुञ्जमा वर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकृत चौधरीले बताए । गत वर्ष गरिएको बाघको गणनाका क्रममा निकुञ्जमा ४४ वटा बाघ फेला परेका थिए । यसअघि विसं २०७८ सम्म निकुञ्जमा ३८ बाघ थिए ।
आर्थिक वर्ष २०७८/७९ को निकुञ्जको वार्षिक तथ्याङ्कका अनुसार निकुञ्जमा १७ गैँडा, दुई हजार तीन सय १३ बाह्रसिङ्गा र ८२ निलगाई छन् । करिब ५६ प्रजातिका घस्रिने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ५० प्रजातिका चरा रहेका छन् ।
तीन सय पाँच वर्गकिमीमा फैलिएको यो निकुञ्जमा बाह्रसिङ्गाको ठूलो झुण्ड र दुर्लभ पाटेबाघ देख्न सकिन्छ । यो क्षेत्रमा करिब ५४ वर्गकिमी क्षेत्रफलमा घाँसै मैदान छ । निकुञ्जको दीर्घकालीन संरक्षण गरी पर्यापर्यटनमार्फत स्थानीय समुदायको जीवीकोपार्जनमा टेवा पुग्ने सक्ने अवसर रहेको भए पनि पर्यटकीय पूर्वाधारको कमी र प्रचारप्रसारको अभावको कारण निकुञ्जमा क्षमताअनुसार पर्यटकहरु भित्रिन नसकेको जनाइएको छ ।
मन्त्री शाहीले निकुञ्जको मझगाउँमा नवनिर्मित दुई तल्ले भवनको पनि उद्घाटन गर्नुभयो ।