गण्डकी प्रदेश

तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय

१६ मङ्सिर, म्याग्दी । अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन् बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छन् । विद्यालयको पूर्वविद्यार्थी रहेकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आउनुभएको छ भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीवहन गर्दै आएकी हुन् ।

तत्कालीन समयमा कक्षा ५ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा चोखालकै नेतृत्वमा कक्षा ८ र कक्षा १० सम्मको पठनपाठन हुन थालेको छ । विगत दुई दशकको अवधिमा विद्यालयको तह मात्र बढेको छैन, विद्यालयको भौतिक र शैक्षिक वातावरणमा पनि व्यापक सुधार भएको छ । कच्ची र साँघुरा कोठामा पठनपाठन हुने विद्यालयमा अहिले सुविधायुक्त पक्की भवन बनेका छन् । आधारभूत तहदेखि स्तरवृद्धि भएर माध्यमिक तहसम्मको पठनपाठन हुन थालेपछि स्थानीय बालबालिकालाई गाउँ छाडेर अन्यत्र अध्ययन गर्न जानुपर्ने झन्झट र बाध्यता हटेको छ ।

उक्त विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइईमा सन्तोषजनक नतिजा ल्याउने गरेको छ । तत्कालीन समयमा कक्षा ३ सम्म पठनपाठन हुने यसै विद्यालयमा आफ्नो आधारभूत तहको पढाइ सुरु गरेकी चोखालले गलेश्वर मावि तोरीपानीबाट एसएलसी उत्तीर्ण गरेको थिएभने तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट स्नातक तह पास गरेकी थिईन् । स्नातक तहमा अध्ययन गर्दा गर्दै २०५० सालमा आफूले प्रारम्भिक तहको शिक्षा लिएको विद्यालयमा अस्थायी शिक्षकका रूपमा शिक्षण पेशामा जोडिनुभएकी चोखालले जीवनको महत्त्वपूर्ण समय विद्यालय, विद्यार्थीकै हितमा खर्चिएकी छन् ।

“आफैँले अक्षर चिनेको विद्यालयमा तीन दशकदेखि जोडिन पाउनुलाई मैले अवसर र कर्तव्यका रूपमा लिएकी छु, समाजको विश्वास र मेरो आत्मविश्वासले विद्यालयलाई नेतृत्व गर्न सक्षम बनाएको हो, घरपरिवारको सकरात्मक सहयोगले पनि विद्यालयको काममा निरन्तर लागिरहन हौसला मिल्ने गरेको छ”, प्रअ बानियाँले भने । विद्यालयसँग आफ्नो पेशा, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व जोडिएको उनी बताउछन् । विस २०५२ को शिक्षक आयोगमा प्रावि तहको लिखित परीक्षा दिए पनि २०६१ सालमा मात्र नतिजा प्रकाशित भएको र आफू सोही विद्यालयमा पदस्थापना भएको उनले बताईन् ।

बानियाँ २०७० सालमा प्रावि द्वितिय तहमा बढुवा भएकी छन् । आफैँले प्रारम्भिक तहको पढाइ सुरु गरेको विद्यालयबाटै आफ्नो शिक्षण पेशा सुरु हुनु, सोही विद्यालयमा नै स्थायी शिक्षकको पदस्थापना हुनु र प्रअको भूमिकामा नेतृत्व सम्हाल्नु बानियाँको जीवनमा विद्यालयसँग सम्झनलायक संयोग बनेका छन् । बानियाँ प्रअको जिम्मेवारीमा आएपछि २०६८ सालदेखि प्रस्तावित माविको अनुमति लिएर विद्यालयको स्तरवृद्धि भएको थियो ।

“प्रावि तहमा मात्र दरबन्दीका शिक्षक कार्यरत थियौँ, बाँकी सबै शिक्षकको तलब सुविधा निजी स्रोतबाट जुटाउनुपथ्र्यो, पछि निमावि र माविमा केही राहत र अनुदानका दरबन्दी थपिएपछि विद्यालयलाई राहत भयो, अहिले पनि दुई जना निजी स्रोतबाट शिक्षक राखेका छौँ”, प्रअ बानियाँले भने ।

समुदायको एकता तथा शिक्षक कर्मचारीको सामूहिकताले विद्यालयको शैक्षिक र भौतिक सुधार सम्भव भएको उनको अनुभूति छ । आफू महिला भएकै कारण विद्यालय असफल हुने त होइन भन्ने सुरुआती चिन्ता समुदायको रचनात्मक साथ, व्यवस्थापन समितिको कुशल अगुवाइ र शिक्षकहरूको मेहनतले उपलब्धिमा रुपान्तरण गर्न सम्भव भएको बानियाँले बताए ।

“महिला प्रअ भएकै कारण व्यक्तिगत रूपमा धेरै चुनौतीको सामना गर्नुपर्यो, घरको काम व्यवस्थापन गरेर विद्यालयका लागि अतिरिक्त समय निकाल्नु महिलाका लागि कठिन हुँदोरहेछ, शिक्षणसँगै विद्यालयको कामले दौडधुप धेरै नै गर्नुपर्यो, जेजति विद्यालयका लागि समय लगानी गरेँ, विद्यालयको भौतिक र शैक्षिक स्वरुपमा आएको परिवर्तनले सन्तुष्टि मिल्ने रहेछ”, प्रअ बानियाँ सुनाउछन् ।