लुम्बिनी

बाँकेमा ‘बरघर’ प्रथा संरक्षण गरिँदै

२२ मङ्सिर, नेपालगञ्ज । जिल्लाको बैजनाथ गाउँपालिकाको थारु समुदायमा रहेको बरघर प्रथा संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको छ । लोप हुन थालेको बरघर प्रथा संरक्षण र प्रवर्द्धन गर्न थारु अगुवाहरू छलफलमा जुटेका हुन् ।

गाउँपालिकाले बरघर थारु गाउँको कार्यकारी प्रमुख प्रणालीको संरक्षण, प्रवर्द्धन र विकास गर्न निर्माण गरिएको विधेयक–२०८१ लाई पूर्ण रूपमा कार्यान्वयन गराउन बैजनाथका ३६ बरघरलाई एकै ठाँउमा ल्याइएको बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले बताए । उनले बैजनाथमा थारुको परम्परागत कला, सांस्कृतिक संरक्षण गर्ने र थारु सङ्ग्र्रहालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपाध्यक्ष रोकायले थारुहरुको पहिचान हुनेगरी आफ्ना गतिविधि गर्न समुदायका अगुवा तथा युवा अग्रसर हुनुपर्नेमा जोड दिए योजनाको प्रस्ताव पेस गर्न बरघरसँग अनुरोध गरे ।

“कला, संस्कृति, रीतिरिवाज, चालचलन, भेषभूषालाई संरक्षण गर्न पालिकाले सबै आर्थिक सहयोग गर्न नसके आफ्नो पहिचान र कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सम्बन्धित समुदाय एकजुट भई योजना बनाएर पालिका तथा सरोकार भएका निकायसँग समन्वय र सहजीकरण गर्नुपर्छ”, उपाध्यक्ष रोकायाले भने ।

बैजनाथको बरघरका अध्यक्ष चन्द्रबहादुर थारुले सबै वडामा समिति तयार भइसकेको बताउँदै बरघरसम्बन्धी विधेयक र आवश्यक कानुन पालिकाले विसं २०८० माघ १८ गते राजपत्रमा प्रकाशन गरिसकेको जानकारी दिए । साथै बैजनाथ–१ चिसापानीमा माघे सङ्क्रान्तिका दिन माघी महोत्सव आयोजना गर्ने निर्णय भएको उनले बताए ।

बैजनाथ गाउँपालिकाको आठ वटा वडामा बरघरको नयाँ कार्यसमिति चयन भएको छ । वडा नं. १ मा खुसीराम थारु, वडा नं. २ मा श्यामुवा थारु, ३ नं. वडामा जुगलाल थारु, ४ नं. वडामा सोहनलाल थारु, ५ नं वडामा प्रेमलाल थारु, ६ नं. वडामा छोटेलाल थारु, ७ नं.वडामा महेश थारु र ८ नं. वडामा राधेश्याम थारु चयन भएको छ ।