अन्तर्राष्ट्रिय

दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु

७ पुस, साओ पाउलो । दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको बताउँदै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेको छन् ।

ब्राजिलको मिनास गेरैस राज्यमा भएको बस दुर्घटनामा सन् २००७ यताकै सबैभन्दा खराब दुर्घटना भएको संघीय राजमार्ग प्रहरी पीआरएफले एएफपीलाई जानकारी दिएको छ ।

नागरिक प्रहरीले ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नौ जनालाई अस्पताल भर्ना गरिएको छ ।

पीआरएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार ग्रेनाइटको एउटा ब्लक विपरीत दिशाबाट आउँदै गरेको ट्रकबाट खसेर बसलाई ठक्कर दिएको हुन सक्ने देखिएको छ ।”

ट्रक चालक घटनास्थलबाट फरार भएको अग्निनियन्त्रकले बताएको छन् ।

अग्निनियन्त्रकहरूले सुरुमा बिहान ४ बजेतिर बसको टायर पड्किएपछि चालकले नियन्त्रण गुमाएर ट्रकलाई ठक्कर दिएको र पछाडिबाट आएको अर्को गाडीले पनि बसलाई ठक्कर दिएको अधिकारीहरूले बताएका छन् ।